Rule 46B
खर्च भराई पाउन निवेदन दिनु पर्ने
(१) ऐनको दफा ७२ को उपदफा (१) बमोजिम स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराई वैदेशिक रोजगारमा गएको कामदार स्वास्थ्यको कारणबाट अयोग्य भई स्वदेश फर्कनु परेमा उपनियम (२) बमोजिमका कागजात सहित वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको फिर्ता पाउन स्वदेश फिर्ता भएको मितिले नब्बे दिनभित्र मन्त्रालय, विभाग, बोर्ड वा वैदेशिक रोजगार सम्बन्धी कामकाज गर्न अधिकार प्राप्त श्रम तथा रोजगार कार्यालयमा निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा देहाय बमोजिमको कागजात संलग्न गर्नु पर्नेछ ः–
(क) विदेशमा स्वास्थ्य परीक्षण गराएको सक्कल रिपोर्ट वा सोको प्रमाणित प्रतिलिपि,
(ख) स्वास्थ्यका कारणले वैदेशिक रोजगारबाट फर्कनु परेको प्रमाणित गर्ने कागजात,
(२क) उपनियम (२) को खण्ड (क) बमोजिमको स्वास्थ्य परीक्षण सम्बन्धी रिपोर्ट नियम ४५क बमोजिमको सूचीकृत स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गरेको नब्बे दिनभित्र गराएको हुनु पर्नेछ ।
(२ख) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गरी सिफारिस गर्न मन्त्रालयले त्यस्तो निवेदन सहितको कागजात विशेषज्ञ समितिमा पठाउनु पर्नेछ ।
(ग) आतेजाते हवाई टिकटको प्रतिलिपि र बोर्डिङ पासको निस्सा,
(घ) राहदानी प्रतिलिपि,
(ङ) विशेषज्ञ समितिले माग गरेका अन्य कागजातहरु ।
(३) विशेषज्ञ समितिले सम्बन्धित स्वास्थ्य संस्था तथा निवेदकसँग आवश्यकता अनुसार थप कागज प्रमाण माग गर्न सक्नेछ ।
(४) उपनियम (३) बमोजिम माग गरेको कागज, प्रमाण निवेदक तथा सम्बन्धित संस्थाले विशेषज्ञ समितिलाई उपलब्ध गराउनु पर्नेछ ।
(५) यस नियम बमोजिम आते जाते खर्च दावी गर्ने व्यक्तिको त्यस्तो खर्च नलिदै मृत्यु भएमा निजको मृत्यु भएकौ पैँतीस दिनभित्र निजको कानून बमोजिमको हकवालाले फिर्ता पाउन यस नियम बमोजिम निवेदन लिन सक्नेछ ।
(६) उपनियम (१) वा (५) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा कुनै स्वास्थ्य संस्थाले गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिएको ठहरेमा विशेषज्ञ समितिले सो व्यहोराको सिफारिस मन्त्रालयमा पठाउनु पर्नेछ ।
(७) उपनियम (६) बमोजिम सिफारिस प्राप्त भएमा मन्त्रालयले सम्बन्धित कामदारको वैदेशिक रोजगारमा जाँदा र फिर्ता हुँदा लागेको खर्च पन्ध्र दिनभित्र उपलब्ध गराउन सम्बन्धित स्वास्थ्य संस्थालाई लेखी पठाउनु पर्नेछ ।
स्पष्टीकरण : यस नियमको प्रयोजनको लागि “जाँदा र फिर्ता हुँदा लागेको खर्च” भन्नाले स्वास्थ्य परीक्षण शुल्क, भिसा शुल्क, विदेश जाँदा र विदेशबाट फर्कदाको हवाई टिकट बापतको रकम, निःशुल्क भिसा र टिकट लागू भएको मुलुकको हकमा नेपाल सरकारले तोकेको सेवा शुल्क र निःशुल्क भिसा र टिकट लागू नभएको मुलुकको हकमा नेपाल सरकारले तोके बमोजिमको हदसम्म कामदारले तिरेको रकम सम्झनु पर्छ ।
(८) उपनियम (७) बमोजिम मन्त्रालयबाट लेखी आएमा स्वास्थ्य संस्थाले त्यस्तो खर्च पन्ध्र दिनभित्र सम्बन्धित कामदारलाई उपलब्ध गराउनु पर्नेछ ।
(९) उपनियम (७) बमोजिमको अवधिभित्र कुनै स्वास्थ्य संस्थाले त्यस्तो खर्च उपलब्ध नगराएमा सम्बन्धित कामदारले सो विषयमा मन्त्रालय समक्ष निवेदन दिन सक्नेछ ।
(१०) उपनियम (१) बमोजिम परेको निवेदन जाँचबुझ गर्दा मनासिव देखिएमा मन्त्रालयले सो स्वास्थ्य संस्थाले जम्मा गरेको धरौटीबाट वैदेशिक रोजगारमा गएको कामदारलाई त्यस्तो खर्च भराई दिन विभागमा लेखी पठाउनु पर्नेछ । यसरी लेखी आएमा विभागले सम्बन्धित स्वास्थ्य संस्थाको धरौटीबाट रकम भराई त्यस्तो स्वास्थ्य संस्थाबाट सो रकम सोधभर्ना गराउनु पर्नेछ ।
(११) उपनियम (१०) बमोजिम विभागमा लेखी आएकोमा विभागले स्वास्थ्य संस्थाको धरौटी कट्टा, सोधभर्ना तथा धरौटी फिर्ता गर्दा ऐन तथा यस नियमावली बमोजिम इजाजतपत्रवालाको धरौटी कट्टा, सोधभर्ना तथा धरौटी फिर्ता गर्दा अवलम्बन गरिने प्रकृया अवलम्बन गर्नु पर्नेछ ।
(१२) उपनियम (१०) बमोजिम धरौटी रकम सोधभर्ना नगर्ने स्वास्थ्य संस्थालाई मन्त्रालयले नियम ४५क बमोजिमको सूचीबाट हटाई खर्च भराउन धरौटीबाट नपुग भएको रकम त्यस्तो स्वास्थ्य संस्थाबाट भराई दिन प्रचलित कानून बमोजिम आवश्यक कारबाही गर्नेछ ।